काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको साधारणसभाले कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। नगद लाभांशमा लाग्ने करसमेत समावेश हुने बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैंकको हालको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्ने विज्ञप्तिमा उल्लेख छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। त्यसैगरी, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पनि स्वीकृत गरेको बैंकले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
बैंकका अनुसार गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
बैंकको २०औँ वार्षिक साधारणसभा २०८३ असोज २६ गते सोमबार पोखराको होटल पोखरा ग्रान्डमा सम्पन्न भएको हो।


