काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयरसँगै कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते १३औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट केटरिङ एण्ड इभेन्ट्समा बिहान साढे १० बजे सुरु हुने सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, पाँच जना सञ्चालक निर्वाचित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


