काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट १२ सहकारीका २३५ बचतकर्ताले रकम फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा सानो रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिँदै रकम फिर्ता गरेको हो।
समितिका अनुसार कृषि विकास, गोरखा, आईडियल यमुना, कान्तिपुर, नेपाल वित्तीय, ओरेन्टल, शिव शिखर, पशुपति, तपाईं हाम्रो, स्ट्यान्डर्ड सेभिङ, लालीगुराँस र गौतम श्री सहकारीका बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
सबैभन्दा धेरै कान्तिपुर सहकारीका ८० जनाले रकम फिर्ता पाएका छन्। त्यस्तै शिव शिखर सहकारीका ६२, ओरेन्टलका ३७, लालीगुराँसका १३, नेपाल वित्तीयका १२, गोरखाका ११ र तपाईं हाम्रो सहकारीका १० बचतकर्ताले रकम फिर्ता पाएका छन्।
यसैगरी आईडियल यमुना सहकारीका ६, कृषि विकास र पशुपति सहकारीका चार–चार, स्ट्यान्डर्ड सेभिङका चार तथा गौतम श्री सहकारीका एक बचतकर्ताले रकम फिर्ता पाएका छन्।
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम उपयोग गरिरहेको स्पष्ट पारेको छ। सहकारीका सम्पत्ति तथा ऋण असुलीबाट प्राप्त रकम सम्बन्धित संस्थाका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने काम निरन्तर भइरहेको समितिले जनाएको छ।
पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने योजना रहेको समितिले जनाएको छ।
समस्याग्रस्त सहकारीमा बचत फसेका सर्वसाधारणले लामो समयदेखि आफ्नो रकम फिर्ताको माग गर्दै आएका छन्। ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमलाई बचतकर्तासम्म पुर्याउने प्रक्रियाले पीडितलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
तर, समितिले २३५ बचतकर्तालाई फिर्ता गरेको कुल रकम र बाँकी बचतकर्तालाई रकम फिर्ता गर्ने समयतालिका भने उपलब्ध विवरणमा खुलाएको छैन।


