करदाता प्रोत्साहन उपहारमा सहभागी हुन शनिबारसम्म बिल प्रविष्ट गर्नुपर्ने

करदाता प्रोत्साहन उपहारमा सहभागी हुन शनिबारसम्म बिल प्रविष्ट गर्नुपर्ने

बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • images


    काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते शनिबारसम्म तोकेको छ।

    विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले शनिबारसम्म खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन्।

    यस अवधिका लागि प्राप्त उपहार कुपन आगामी कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ।

    उपभोक्ताले खरिद बिलको विवरण https://prize.ird.gov.np/ मा गएर प्रविष्ट गर्न सक्नेछन्। विवरण प्रविष्ट गरेपछि उपहार कुपन प्राप्त हुनेछ।

    विभागले उपहार कार्यक्रममा सहभागी हुन खरिद बिल अनिवार्य रहेको स्पष्ट पारेको छ। त्यसैले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरिएको छ।

    त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न व्यवसायीलाई विभागले अनुरोध गरेको छ।

    विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको यस कार्यक्रममार्फत उपभोक्तालाई खरिद बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई बिल जारी गर्न उत्प्रेरित गर्ने लक्ष्य राखेको छ। यसले कारोबारलाई पारदर्शी बनाउन र कर प्रणालीमा बिलिङको अभ्यास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend