औषधि आयातनिर्यातको अनुमति लिन अब अनलाइन आवेदन, यस्तो छ प्रक्रिया

औषधि आयातनिर्यातको अनुमति लिन अब अनलाइन आवेदन, यस्तो छ प्रक्रिया

ट्याक्स खबर
बिहिवार, आश्विन २९ २०८३
ट्याक्स खबर
बिहिवार, आश्विन २९ २०८३
  • images

    काठमाडौं। औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीको निकासी तथा पैठारीका लागि आवश्यक सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र र प्रमाणपत्र लिन अब नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने भएको छ।

    औषधि व्यवस्था विभागले बिहीबारदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो। औषधि तथा औषधिजन्य सामग्रीको अन्तर्राष्ट्रिय व्यापारमा संलग्न सम्बन्धित व्यवसायी तथा आयातकर्तानिर्यातकर्ताले अब आवश्यक कागजातका लागि नेपाल राष्ट्रिय एकद्वार प्रणालीको पोर्टलबाट आवेदन दिनुपर्नेछ।

    कसरी दिने आवेदन ?

    आवेदन दिन सम्बन्धित व्यवसायीले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको आधिकारिक वेबसाइट www.nnsw.gov.np मा जानुपर्नेछ।

    त्यहाँबाट औषधि तथा औषधिजन्य सामग्रीको निकासी वा पैठारीसँग सम्बन्धित सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायत कागजातका लागि उपलब्ध आवेदन मोड्युल प्रयोग गर्न सकिनेछ।

    आवेदन गर्दा आवश्यक विवरण भरी माग गरिएका कागजात तथा सूचना प्रणालीमा उपलब्ध गराउनुपर्ने हुन्छ। आवेदनसम्बन्धी विस्तृत प्रक्रिया, आवश्यक कागजात र प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी लिन औषधि व्यवस्था विभागको वेबसाइट www.dda.gov.np मा राखिएको प्रयोगकर्ता निर्देशिका (युजर म्यानुअल) हेर्न सकिन्छ।

    कानुनी आधार के हो ?

    भन्सार ऐन, २०८२ को दफा १२३ र भन्सार नियमावली, २०८३ को नियम १२२ ले निकासी तथा पैठारीसँग सम्बन्धित निकायले भन्सार जाँचपासका काम नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरेको छ।

    अर्थ मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समन्वय समितिको २०८३ साउन २८ गतेको निर्णयअनुसार प्रणालीमा विकास गरिएका तर सञ्चालनमा नआएका मोड्युल कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ।

    यस व्यवस्थाले औषधि आयातनिर्यातका लागि आवश्यक कागजात प्राप्त गर्ने प्रक्रिया एउटै अनलाइन प्रणालीमा ल्याउनेछ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend