राष्ट्रिय अर्थतन्त्रभन्दा पछाडि कर्णाली, उद्योगको क्षमता उपयोग ३१ प्रतिशतमा सीमित

राष्ट्रिय अर्थतन्त्रभन्दा पछाडि कर्णाली, उद्योगको क्षमता उपयोग ३१ प्रतिशतमा सीमित

देशको कुल अर्थतन्त्रमा कर्णालीको हिस्सा ४.२० प्रतिशत मात्रै, पर्यटक आगमन २८ प्रतिशत घट्यो; कृषि उत्पादन बढे पनि तरकारी र फलफूलमा गिरावट

शनिवार, कार्तिक १५ २०८३
शनिवार, कार्तिक १५ २०८३
  • images

    काठमाडौं । प्राकृतिक स्रोत, जलविद्युत्, जडीबुटी, पर्यटन र कृषिको ठूलो सम्भावना बोकेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अपेक्षाकृत सुस्त देखिएको छ। राष्ट्रिय अर्थतन्त्रको तुलनामा प्रदेशको आर्थिक वृद्धिदर कमजोर हुनुका साथै उद्योगको क्षमता उपयोग, पर्यटक आगमन र कृषि कर्जासमेत दबाबमा देखिएका छन्।

    नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०८२/८३)’ ले कर्णालीको अर्थतन्त्रमा रहेको संरचनागत कमजोरी उजागर गरेको हो।

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। जबकि सोही अवधिमा राष्ट्रिय अर्थतन्त्रको वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। यसले राष्ट्रिय औसतको तुलनामा कर्णालीको आर्थिक विस्तार कमजोर रहेको देखाउँछ।

    कर्णालीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रचलित मूल्यमा २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान छ। यो नेपालको कुल जीडीपी ६६ खर्ब १ अर्ब रुपैयाँको ४.२० प्रतिशत मात्रै हो। सात प्रदेशमध्ये राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम योगदान कर्णालीकै रहने देखिएको छ। बागमती प्रदेशको योगदान भने सबैभन्दा धेरै ३६.७१ प्रतिशत छ।

    प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा ५८.४१ प्रतिशत छ। कृषि क्षेत्रले ३१.५२ प्रतिशत योगदान गर्दा उद्योग क्षेत्रको हिस्सा १०.०७ प्रतिशत मात्रै छ। यसले कर्णालीको अर्थतन्त्र अझै उत्पादनमूलक औद्योगिक गतिविधिमा विस्तार हुन नसकेको देखाउँछ।

    राष्ट्रिय कृषि उत्पादनमा कर्णालीको योगदान ५.५१ प्रतिशत छ। तर औद्योगिक उत्पादनमा ३.०२ प्रतिशत र सेवा क्षेत्रमा ३.७६ प्रतिशत मात्रै हिस्सा छ। प्रदेशभित्र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिदर १.५१ प्रतिशत र निर्माण क्षेत्रको २.७२ प्रतिशत रहने अनुमान छ।

    उद्योगको क्षमता उपयोग ३१ प्रतिशतमा झर्‍यो
    कर्णालीको औद्योगिक क्षेत्र कमजोर रहेको अर्को संकेत उद्योगको क्षमता उपयोगमा देखिएको छ। प्रदेशभित्र सञ्चालित नमुना उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको ३९.१२ प्रतिशतबाट घटेर ३०.९८ प्रतिशतमा सीमित भएको छ।

    अर्थात् उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको एकतिहाइ हाराहारी मात्रै उपयोग गर्न सकेका छन्। राडीपाखी उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा धेरै ६६.६७ प्रतिशत रहे पनि प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग १०.१९ प्रतिशत मात्रै छ।

    समीक्षा वर्षमा चाउमिन, गलैँचा, काठ र बिजुली बल्बको उत्पादन बढेको छ। तर प्रशोधित दूध, दाना, कागज र छालाका जुत्ताको उत्पादन घटेको छ।

    औद्योगिक गतिविधि कमजोर देखिए पनि यस क्षेत्रमा कर्जा प्रवाह भने बढेको छ। औद्योगिक कर्जा २५.६३ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

    तर औद्योगिक कर्जाको वितरणमा पनि भौगोलिक असन्तुलन छ। कुल औद्योगिक कर्जामध्ये सुर्खेतमा मात्रै ५६.५१ प्रतिशत लगानी भएको छ। डोल्पामा भने ०.२८ प्रतिशत मात्रै कर्जा प्रवाह भएको छ। क्षेत्रगत रूपमा निर्माणसम्बन्धी उद्योगमा सबैभन्दा धेरै ३५.९९ प्रतिशत कर्जा गएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend