निजी क्षेत्रको मनोबल खस्किएको कांग्रेसको निष्कर्ष, अर्थतन्त्र चलायमान बनाउन सरकारसँग कार्ययोजना माग

निजी क्षेत्रको मनोबल खस्किएको कांग्रेसको निष्कर्ष, अर्थतन्त्र चलायमान बनाउन सरकारसँग कार्ययोजना माग

लगानीयोग्य रकम हुँदाहुँदै लगानी बढ्न नसकेको, बैंकको खराब कर्जा बढेको र साना व्यवसायी ऋण तिर्नसमेत कठिनाइमा परेको कांग्रेसको भनाइ

शनिवार, मंसिर १३ २०८३
शनिवार, मंसिर १३ २०८३
  • images

    काठमाडौं । नेपाली कांग्रेसले मुलुकको अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै अर्थतन्त्र सुधारका लागि समयबद्ध कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ देखि ११ गतेसम्म बसेको बैठकले अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार गम्भीर नदेखिएको ठहर गरेको हो। बैठकले आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको, दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणको भान्सा प्रभावित भएको तथा साना उद्यमी र व्यवसायीले व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत कठिनाइ भोगिरहेको जनाएको छ।

    बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी विस्तार हुन नसकेको कांग्रेसको विश्लेषण छ। बजार अपेक्षित रूपमा चलायमान हुन नसकेको, बैंकहरूको खराब कर्जाप्रतिको चिन्ता बढेको र निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको उसको भनाइ छ।

    कांग्रेसले पछिल्लो समय देखिएको व्यावसायिक वातावरणको अनिश्चिततालाई पनि अर्थतन्त्रको समस्याका रूपमा औँल्याएको छ। तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा पहिले पक्राउ गर्ने र थुन्ने अनि त्यसपछि मात्र आधार तथा प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरणमा प्रतिकूल असर पार्ने बैठकको निष्कर्ष छ।

    यस्तो वातावरणका कारण निजी क्षेत्र मात्र नभई राष्ट्रसेवक कर्मचारीसमेत आवश्यक निर्णय लिन हिचकिचाउने अवस्था बनेको कांग्रेसले जनाएको छ। प्रणाली निर्माण र संस्थागत सुधारबाट सुशासन कायम गर्नुपर्नेमा डर, दबाब र तदर्थ निर्णयका आधारमा शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको उसको आरोप छ।

    कांग्रेसले अर्थतन्त्रको वास्तविक अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अर्थतन्त्रलाई चलायमान बनाउने समयबद्ध कार्ययोजना ल्याउन, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न र साना तथा मझौला उद्यमीका समस्या सम्बोधन गर्नुपर्ने उसको माग छ।

    त्यस्तै, सरकारी पुँजीगत खर्च बढाउन, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकतामा राख्न तथा महँगी नियन्त्रण गरी आम नागरिकलाई तत्काल राहत दिन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

    बैठकले वैदेशिक रोजगारीमा जाने युवाले भोग्नुपरेका समस्या, सहकारीपीडितका समस्या, किसानले मल र बीउको उपलब्धता तथा उत्पादनको उचित मूल्य पाउन नसकेको अवस्था र उद्यमीदेखि श्रमिकसम्मका समस्यालाई पनि यथावत् रहेको जनाएको छ। सार्वजनिक सेवा प्रवाहमा सुधार नदेखिएको, सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर प्राथमिकतामा नपरेको तथा स्वास्थ्य बिमा कार्यक्रमसमेत अलपत्र परेको कांग्रेसको भनाइ छ।

    सरकारी बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको र भ्रष्टाचार नियन्त्रणमा संस्थागत तथा प्रणालीगत सुधारको अनुभूति नागरिकले गर्न नपाएको पनि बैठकले उल्लेख गरेको छ।

    कांग्रेसले राजनीतिक स्थिरताको लाभ नागरिकले आफ्नो दैनिक जीवनमा महसुस गर्न पाउनुपर्ने जनाएको छ। अर्थतन्त्रमा सुधार आएर नागरिकको जीवन सहज भए मात्रै राजनीतिक स्थिरताको सार्थकता प्रमाणित हुने उसको भनाइ छ।

    बैठकले सरकारसँग अर्थतन्त्रको अवस्था र नागरिकले भोगिरहेका दैनिक समस्याबारे प्रश्नसमेत गरेको छ। महँगी र निजी क्षेत्रमा बढ्दो त्रासबारे सरकार अनभिज्ञ रहेको हो वा थाहा भएर पनि बेवास्ता गरिरहेको हो भन्दै कांग्रेसले नागरिकको आम्दानी, शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनस्तर सुधार सरकारको प्राथमिकता हुनुपर्ने बताएको छ।

    भोटेकोशी–त्रिशूली पुनर्निर्माणमा २४० अर्बको सहयोग सकारात्मक

    कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि घोषणा भएको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई सकारात्मक रूपमा लिएको छ।

    भारत सरकारले घोषणा गरेको उक्त प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको विज्ञप्तिमा उल्लेख छ। बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना, ऊर्जा तथा नयाँ पूर्वाधार विकासका लागि यो सहयोग महत्त्वपूर्ण हुने कांग्रेसको धारणा छ।

    त्यस्तै, भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं–भैरहवा–लखनऊ (बी३४५) हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमतिलाई पनि कांग्रेसले स्वागत गरेको छ। यसले नेपालको पर्यटन तथा समग्र आर्थिक विकासमा सहयोग पुग्ने उसको अपेक्षा छ।

    तर, भारतसँग भएका सहमतिलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न स्पष्ट कार्ययोजना र समयसीमा आवश्यक रहेको कांग्रेसले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend