काठमाडौं। नेपाल टेलिकममा रहेको आफ्नो ठूलो सेयर हिस्सा घटाएर सर्वसाधारणको स्वामित्व बढाउने सरकारको योजना कार्यान्वयनतर्फ अघि बढेको छ। यसका लागि सरकारले कम्पनीमा रहेको सरकारी सेयरमध्ये करिब २५ प्रतिशत बिन्दुबराबर हिस्सा बिक्री गर्ने तयारी गरेको छ।
नेपाल टेलिकममा हाल सरकारको ९१.४९ प्रतिशत सेयर स्वामित्व छ। सरकारले यसलाई घटाएर ६६ प्रतिशतमा सीमित गर्ने योजना बनाएको छ। यसो हुँदा सरकारको स्वामित्वबाट २५.४९ प्रतिशत बिन्दुबराबर सेयर बाहिरिनेछ। उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको योजना छ।
सेयर बिक्रीको घोषणा बजेटबाटै भए पनि त्यसको प्रक्रिया, बिक्री विधि र कार्यान्वयनको ढाँचा अझै तय भएको छैन। यही विषय टुंगो लगाउन अर्थ मन्त्रालयले सांसद सुशील खड्काको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेल, कानुन सचिव पाराश्वर ढुंगाना र अर्थ मन्त्रालयकी सहसचिव कविता रेग्मी सदस्य छन्। उपसमितिले नेपाल टेलिकममा सरकारको सेयर विनिवेश गर्ने विषयमा विस्तृत अध्ययन गरी सरकारलाई रायसहित सिफारिस गर्नेछ।
नेपाल टेलिकममा हाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत तथा सर्वसाधारण र कर्मचारीको ८.४८ प्रतिशत सेयर स्वामित्व छ।
सरकारले प्रस्ताव गरेअनुसार आफ्नो हिस्सा ६६ प्रतिशतमा झारेमा सर्वसाधारण तथा अन्य लगानीकर्ताको स्वामित्व बढेर करिब ३३.९७ प्रतिशत पुग्नेछ। नागरिक लगानी कोषको ०.०३ प्रतिशत हिस्सा यथावत् रहनेछ।
यसको अर्थ सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय नियन्त्रण भने तत्काल छाड्न खोजेको होइन। ६६ प्रतिशत सेयर आफैँसँग राखेर कम्पनीको बहुमत स्वामित्व र नियन्त्रण कायम राख्ने उसको योजना हो। तर, कम्पनीमा सर्वसाधारणको लगानी र सहभागिता अहिलेको तुलनामा उल्लेख्य बढ्नेछ।
हालको कुल १८ करोड कित्ता सेयरलाई आधार मान्दा सरकारले बिक्री गर्न खोजेको २५.४९ प्रतिशत हिस्सा करिब ४ करोड ५८ लाख कित्ता हुन्छ। यसको बिक्री मूल्य भने अहिलेसम्म निर्धारण भएको छैन।
सेयर बिक्रीबाट आएको पैसा कहाँ खर्च हुन्छ?
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल टेलिकमको सरकारी सेयर घटाउने घोषणा गरेको थियो। बजेटमा संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखेर बाँकी सेयर पुस मसान्तभित्र सर्वसाधारणलाई बिक्री गर्ने उल्लेख छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई सूचना प्रविधि (आईटी) हबका रूपमा विकास गर्न उपयोग गर्ने घोषणा गरेका थिए। अर्थात् सरकारले टेलिकमको सेयर बेचेर प्राप्त हुने रकमलाई सामान्य सरकारी खर्चमा नभई प्रविधि पूर्वाधार र डिजिटल अर्थतन्त्र विकासमा लगाउने योजना अघि सारेको हो।
बजेटको घोषणापछि अब सरकारले बिक्री प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन थालेको छ। उपसमितिले सेयर बिक्रीको मोडालिटी, प्रक्रिया र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिनेछ।
सरकारले सर्वसाधारणलाई थप सेयर बिक्री गर्ने घोषणा गरे पनि त्यसको व्यावहारिक प्रक्रिया स्पष्ट हुन बाँकी छ। अहिलेको अध्ययनमा मुख्यतः कति सेयर बिक्री गर्ने, कुन विधिबाट बिक्री गर्ने, सेयरको मूल्य कसरी निर्धारण गर्ने र लगानीकर्तालाई कसरी वितरण गर्ने भन्ने विषय महत्त्वपूर्ण हुनेछन्।
नेपाल टेलिकम नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी भएकाले थप सेयर बिक्रीको विधि र त्यसले सेयर बजारमा पार्ने प्रभाव पनि अध्ययनको विषय बन्न सक्छ। ठूलो परिमाणमा सेयर बजारमा आउँदा आपूर्ति, मूल्य र लगानीकर्ताको मागमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्नसमेत जोडिन्छ।
त्यस्तै, सरकारी स्वामित्व घटेपछि कम्पनीको व्यवस्थापन, निर्णय प्रक्रिया र सञ्चालनमा सर्वसाधारण सेयरधनीको सहभागिता कसरी बढ्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुनेछ।
सरकारले यसअघि पनि नेपाल टेलिकमको सेयर स्वामित्व घटाउने विषय उठाउँदै आएको थियो। यसपटक भने बजेटमै ६६ प्रतिशत सरकारी स्वामित्व कायम राख्ने र बाँकी सेयर बिक्री गर्ने समयसीमासमेत उल्लेख गरिएको छ।



