बिल माग्ने ग्राहकसँगै बिल काट्ने व्यवसायीलाई पनि पुरस्कार, पोखराबाट खुल्दै चिट्ठा

बिल माग्ने ग्राहकसँगै बिल काट्ने व्यवसायीलाई पनि पुरस्कार, पोखराबाट खुल्दै चिट्ठा

आइतवार, मंसिर १४ २०८३
आइतवार, मंसिर १४ २०८३
  • images

    काठमाडौं। सामान वा सेवा खरिद गर्दा बिल माग्न ग्राहकलाई प्रोत्साहित गर्ने सरकारको अभियानमा अब बिल जारी गर्ने व्यवसायीलाई पनि पुरस्कारको आकर्षण थपिएको छ।

    कर छली नियन्त्रण र कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत यसपटक उपभोक्ता र विक्रेता दुवै समूहका विजेता छनोट गरिने भएको छ।

    आन्तरिक राजस्व कार्यालय पोखराले मंसिर १ देखि १५ गतेसम्मको कारोबारका आधारमा उपहार विजेता छनोट गर्न लागेको हो। यसपटकको चिट्ठा मंसिर १६ गते बुधबार बिहान १०ः३० बजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा खोलिने कार्यालयले जनाएको छ।

    यस कार्यक्रमको विशेषता ग्राहकलाई मात्र पुरस्कारको अवसर दिनु नभई कारोबार गर्ने दुवै पक्षलाई कर प्रणालीमा सहभागी गराउने प्रयास हो। उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा बिल माग्ने र व्यवसायीले वास्तविक कारोबारअनुसार बिल जारी गर्ने बानी विकास गराउन सरकारले पुरस्कार कार्यक्रमलाई माध्यम बनाएको छ।

    सामान वा सेवा बिक्री गरेपछि बिल जारी नगर्ने, कम मूल्यको बिल काट्ने वा कारोबार नै लुकाउने प्रवृत्तिले सरकारको राजस्व संकलनमा असर पार्छ। उपभोक्ताले बिल माग्न थालेमा व्यवसायीलाई वास्तविक कारोबार अभिलेखमा राख्न दबाब पर्ने भएकाले सरकारले उपभोक्तालाई पुरस्कारको अवसर दिएर बिल माग्ने संस्कार विकास गर्न खोजेको हो।

    बिल लिएपछि कसरी सहभागी हुने ?

    आन्तरिक राजस्व विभागले सञ्चालन गरेको कार्यक्रमअनुसार उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा स्थायी लेखा नम्बर (प्यान) सहितको सक्कल बिल वा बीजक लिनुपर्छ। एकपटकमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा आफ्नै प्रयोजनका लागि खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुन्छन्।

    बैंक तथा डिजिटल वालेटको क्यूआर वा कार्डमार्फत भुक्तानी गर्दा कारोबार स्वतः पुरस्कार कार्यक्रममा समावेश हुने व्यवस्था छ। तर, पुरस्कार दाबी गर्न खरिदको बिल सुरक्षित राख्नुपर्छ।

    नगदमा भुक्तानी गर्ने उपभोक्ताले भने बिल लिएपछि आन्तरिक राजस्व विभागको पुरस्कार पोर्टलमा गएर बिलको विवरण प्रविष्ट गर्नुपर्छ। त्यसपछि प्राप्त हुने पुरस्कार कुपन नम्बरका आधारमा चिट्ठामा सहभागी हुन सकिन्छ।

    विभागको पोर्टलमा बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति र कुल रकमसहित भुक्तानीकर्ताको विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था छ। बिलको वास्तविकता प्रमाणीकरण भएपछि मात्रै पुरस्कार दाबी गर्न पाइन्छ।

    सरकारले सबै प्रकारका बिललाई भने पुरस्कार कार्यक्रममा समावेश गरेको छैन। व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाका नाममा जारी बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिदका बिल कार्यक्रममा योग्य मानिँदैनन्। प्यान नम्बर नभएका विक्रेताबाट खरिद गरिएका बिल पनि समावेश हुँदैनन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend