विद्युत् निर्यातबाट नेपालको आम्दानी २० अर्ब नाघ्यो, प्रतियुनिट औसत मूल्य ८.५८ रुपैयाँ

विद्युत् निर्यातबाट नेपालको आम्दानी २० अर्ब नाघ्यो, प्रतियुनिट औसत मूल्य ८.५८ रुपैयाँ

आइतवार, मंसिर १४ २०८३
आइतवार, मंसिर १४ २०८३
  • images

    काठमाडौं । बाढीका कारण जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेर उत्पादन प्रभावित भए पनि नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २० अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।

    नेपाल विद्युत् प्राधिकरणले साउनदेखि कात्तिकसम्म भारत र बंगलादेशमा २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् बिक्री गरी २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको हो।

    प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार चार महिनामा निर्यात भएको विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ। आन्तरिक खपतपछि बचत भएको वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज र द्विपक्षीय सम्झौतामार्फत भारत तथा बंगलादेशमा बिक्री गरिएको हो।

    निर्यातको परिमाण र आम्दानी हेर्दा असोजमा सबैभन्दा बढी कारोबार भएको छ। उक्त महिनामा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो। असोजमा विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा थियो।

    त्यसैगरी साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यातबाट ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ आम्दानी भएको थियो। भदौमा ५७ करोड ८७ लाख युनिट विद्युत् बिक्रीबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ प्राप्त भएको थियो।

    कात्तिकमा भने निर्यात परिमाण घटेर ५२ करोड ९३ लाख युनिटमा सीमित भएको छ। उक्त महिनामा ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ। कात्तिकको औसत बिक्री मूल्य प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन र प्रसारणतर्फका संरचनामा क्षति पुर्‍याउँदा केही आयोजनाको उत्पादन बन्द भएको थियो। निर्यातका लागि स्वीकृति पाएका केही आयोजनासमेत प्रभावित हुँदा यस वर्ष विद्युत् निर्यातमा असर परेको उनको भनाइ छ।

    यद्यपि, उत्पादनमा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको श्रेष्ठले बताएका छन्।

    प्राधिकरणले अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। त्यस्तै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुनदेखि अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात हुँदै आएको छ।

    बंगलादेशसँगको त्रिपक्षीय सम्झौताअनुसार पनि वर्षायाममा विद्युत् बिक्री भइरहेको छ। प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।

    गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो।

    यसरी गत आवमा विद्युत् आयातमा भएको खर्चभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो। पछिल्ला दुई वर्षदेखि नेपाल विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ।  

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend