काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। कम्पनीले यसअन्तर्गत इन्टरनेट समस्या समाधान, निःशुल्क वाइफाइ पहुँच र सेवा अवरुद्ध हुँदाको क्षतिपूर्तिसम्बन्धी तीनवटा प्रतिबद्धता सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ सेवामार्फत ग्राहकले इन्टरनेटमा समस्या आएमा छिटो प्राविधिक सहयोग पाउने, घरबाहिर पनि निःशुल्क वाइफाइ प्रयोग गर्न सक्ने र लामो समय सेवा अवरुद्ध भएमा क्षतिपूर्ति प्राप्त गर्नेछन्।
‘तुरुन्तै’ नाम दिइएको पहिलो प्रतिबद्धताअनुसार ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको दुई घण्टाभित्र समस्या समाधान गर्ने कम्पनीले जनाएको छ। तोकिएको अवधिमा समस्या समाधान हुन नसके ग्राहकलाई दुई दिनको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइनेछ।
यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि मात्र लागू हुनेछ। वर्षाका कारण मर्मतसम्भारको काम गर्न नसकिने अवस्था आएमा भने वर्षा रोकिनेबित्तिकै मर्मत प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
त्यस्तै, कार्यालय समय अपराह्न ४ बजेपछि दर्ता भएका गुनासोमा अर्को दिन बिहान ७ बजे कार्यालय समय सुरु भएपछि मात्रै दुई घण्टाभित्र समस्या समाधान गर्ने प्रक्रिया लागू हुनेछ।
कम्पनीले दोस्रो प्रतिबद्धताअन्तर्गत आफ्नो निःशुल्क वाइफाइ सेवालाई थप सहज बनाएको छ। अब ग्राहकले ‘माई वर्ल्डलिंक’ एपबाट एकैपटकमा वर्ल्डलिंक वाइफाइ हटस्पटमा जोडिन सक्नेछन्। यो सेवा असीमित हुने र कम्पनीका सबै ग्राहकले कुनै बन्देजबिना प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।
तेस्रो प्रतिबद्धता भने सेवा अवरुद्ध हुँदाको क्षतिपूर्तिसँग सम्बन्धित छ। एकैपटक ठूलो संख्यामा ग्राहक प्रभावित हुने गरी इन्टरनेट सेवा अवरुद्ध भएमा र अवरोध तोकिएको सीमाभन्दा लामो समयसम्म कायम रहेमा ग्राहकले एक दिनको थप इन्टरनेट सेवा पाउनेछन्।
क्षतिपूर्ति लिन ग्राहकले माई वर्ल्डलिंक एपबाटै अनुरोध दर्ता गर्न वा नजिकैको कम्पनीको शाखामा सम्पर्क गर्न सक्नेछन्। यो व्यवस्था कम्पनीका सबै ग्राहकका लागि लागू हुने जनाइएको छ।
कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) रविन्द्र महर्जनले यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै स्थानमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्ने बताए। उनका अनुसार कम्पनीले इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई पनि समान प्राथमिकतामा राखेको छ।
‘ढुक्कको कनेक्सन’ मार्फत कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउने मात्र नभई सेवा प्रयोगका क्रममा आइपर्ने समस्याको जिम्मेवारीसमेत लिने सन्देश दिन खोजेको छ। कम्पनीले यस अभियानलाई ‘अब ढुक्क हुनुहोस्, तपाईंको कनेक्सनको जिम्मेवारी हाम्रो’ भन्ने नारासहित अघि बढाएको छ।



