पीटीई परीक्षामा कर छलीः आन्तरिक राजस्व विभागले थाल्यो अनुसन्धान

पीटीई परीक्षामा कर छलीः आन्तरिक राजस्व विभागले थाल्यो अनुसन्धान

सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • images

    काठमाडौं । पीयर्सन टेस्ट अफ् इङ्लिस (पीटीई) परीक्षाबाट ठूलो रकम छली भएको पाइएपछि आन्तरिक राजस्व विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 
    विभागका महानिर्देशक मदन दाहालले अन्तःशुल्क तथा अनुसन्धान महाशाखालाई यसबारे जाँचबुझ गरेर थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । 
    अब पीटीई परीक्षा सञ्चालन गर्ने केन्द्र र त्यसको प्यान वा भ्याट दर्तालगायतबारे महाशाखाले अनुसन्धान गर्ने छ । त्यसपछि नेपालमा दर्ता नभइ सञ्चालन भएको र कर छली गरेको पुष्टि भए कारवाही प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ । 
    ‘हामी यसमा गम्भीर छौं । दर्ता बिना चलेका र कर छली गर्नेमाथि कानुन अनुसार कारवाही हुन्छ’ दाहालले भने । पीटीईको नेपाल कार्यालयसमेत छैन । 
    यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले हब सेन्टरबाट हुने पीटीई परीक्षा सञ्चालनमा रोक लगाएको थियो । पीटीई सञ्चालन गर्ने निकाय नेपालमा दर्ता नहुँदा कन्सल्टेन्सीहरुले विद्यार्थीबाट उठाउने पैसा अवैध बाटोबाट विदेशिने गरेको छ । पीटीईका नाममा वार्षिक पौने २ अर्ब रुपैयाँ विदेशिने गरेको सरकारी अनुमान छ । 
    पीटीईजस्तै अंग्रेजी भाषाको परीक्षा आइएलटीएसले कुल शुल्कको १५ प्रतिशत कर राज्यलाई बुझाउँदै आएको छ । नेपालमा ब्रिटिस काउन्सिल, आईडीपीलगायतले आइएलटीएस परीक्षा सञ्चालन गरेका छन् । 
    विभिन्न कन्सल्टेन्सी वा विद्यार्थीले सिधै ब्रिटिस काउन्सिल वा आइडीपीबाट परीक्षाको मिति बुक गर्न वा भुक्तानी गर्न सक्छन् । विद्यार्थी वा कन्सल्टेन्सीमार्फत जम्मा भएको पैसामा ब्रिटिश काउन्सिल वा आइडीपीले राज्यलाई कर बुझाउँछन् । 
    वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले पनि शैक्षिक कन्सल्टेन्सीमाथि अनुगमन गरिरहेको छ । केही दिनअघि मात्र विभागले २५ वटा कन्सल्टेन्सीको अनुगमन गरी कैफियत देखिएको भन्दै ९ वटालाई कारवाही गरेको थियो । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend