विद्युत निर्यात गरी नेपालले कमायो साढे १७ अर्ब

विद्युत निर्यात गरी नेपालले कमायो साढे १७ अर्ब

शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ । 
    भारत र बंगलादेशमा गरेर प्राधिकरणले सोबराबरको बिजुली निर्यात गरेको हो । नेपाल विद्युत प्राधिरकणको तथ्यांकअनुसार भारतमा १७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ  र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत निर्यात भएको छ । 
    गत आवमा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँबराबरको विद्युत आयात भएको छ । सोअनुसार गत आवमा विद्युत व्यापारमा नेपाल चार अर्ब ५३ करोड ६८ लाख रुपैयाँले बचतमा देखिन्छ । यद्यपि, गत आवको अन्तिम तीन महिनाजति भारतले रातको समयमा विद्युत कटौती गर्दा आयात घट्न गई यस्तो बचत बढ्न गएको देखिन्छ ।
    वैदेशिक विद्युत व्यापारमा नेपाल अघिल्लो आव ०८०/०८१ देखि नाफामा छ । यस्तो व्यापारमा अघिल्लो आव ०८०/०८१ मा नेपाल १३ करोड रुपैयाँले बचतमा गएको थियो । त्यस आवमा १६ अर्ब ९२ करोडको विद्युत आयात हुँदा निर्यात १७ अर्ब ६ करोड रुपैयाँको थियो। त्यसअघिका आवमा भने विद्युत व्यापारमा नेपाल घाटामा थियो ।
    नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताको रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत बिक्री गर्दै आएको छ ।
    अहिले भारतमा ९४१ मेगावाट विद्युत निर्यात गर्ने अनुमति छ । त्यसमा हाल दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत निर्यात गरिरहेको छ । यस्तै, गत वर्षदेखि प्राधिकरणले बंगलादेशमा पनि विद्युत निर्यात गर्न सुरु गरेको छ । बर्खामा ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने गर्छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend