काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । साउनको तुलनामा भदौ महिनाका लागि वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दुमा रहेको थियो ।
भदौ महिनाका लागि ८ वटा बैंकले ब्याजदर घटाएका छन् । प्रभु बैंकले बढाएको छ भने बाँकी ११ वटा बैंकको ब्याजदर भने स्थिर राखिएको छ । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् ।
सबैभन्दा बढी ब्याजदर कटौती गर्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले भदौ महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२० प्रतिशत घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । लक्ष्मी सनराइज बैंकले निक्षेपमा सबैभन्दा कम ब्याजदर दिने भएको छ। बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ।
सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर दिने भएको छ ।
कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै, प्रभु बैंकले भने निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। बैंकले साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिएको थियो।
अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ। ब्याजदर स्थिर राख्ने बैंकहरुमा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, प्राइम बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।


