नेपालगन्ज भन्सारको राजस्व असुली निरन्तर ओरालो

नेपालगन्ज भन्सारको राजस्व असुली निरन्तर ओरालो

पहिलो महिनामै लक्ष्य भन्दा ४८ करोड कम संकलन

आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • images

    नेपालगन्ज । नेपालगन्ज भन्सारको राजस्व चालु आर्थिक वर्षको पहिलो महिनामै ओरालो लागेको छ । 
    कोभिड महामारी पछिको आर्थिक मन्दिसँगै पछिल्लो चार वर्षदेखि निरन्तर ओरालो लाग्दै आएको भन्सारको राजस्व संकलन लक्ष्यमा यस वर्ष पनि सुधार आउन नसकेको हो । 

    भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना अर्थात साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने मासिक लक्ष्य तोकिएको छ । तर कार्यालयले आर्थिक वर्षको पहिलो महिनामै लक्ष्य भन्दा ४८ करोड २७ लाख ६२ हजार कम असुली गरेको जनाएको छ । कार्यालयका अनुसार साउनमा कुल एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार अर्थात लक्ष्यको ७४.१४ प्रतिशत मात्रै राजस्व असुली गरेको हो । यो गत वर्षको सोही अवधीको तुलनामा १२ करोड रुपैयाँ कम हो । 

    गत आर्थिक वर्ष २०८१÷०८२ को साउनमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैया अर्थात ७३.६७ प्रतिशत राजस्व असुली भएको थियो । भन्सार विभागले कार्यालयलाई गत आर्थिक वर्षको साउनमा २ अर्ब ४ करोड १४ लाख ६६ हजार राजस्व संकलन गर्ने मासिक लक्ष्य तोकेको थियो । 

    साउनमा यस नाकाबाट कुल ५ अर्ब ४७ करोड ९० लाख ७३ हजारको वैदेशिक व्यापार भएको छ । जसमध्ये  ५ अर्ब ३० करोड ३ लाखको वस्तु आयात हुँदा १७ करोड ८७ लाख  २ हजारको वस्तु मात्र निर्यात भएको छ । 

    गत आर्थिक वर्षमा ५ अर्ब ७९ करोड ५० लाख ६० हजारको व्यापार भएको थियो । जसमध्ये ५ अर्ब ५८ करोड २३ लाख ८३ हजार रुपैया बराबरको वस्तु आयात भएको थियो भने कुल २१ करोड २६ लाख ७७ हजार रुपैयाँको मात्र बस्तु निर्यात भएको कार्यालयको तथ्यांक छ । 

    लगातार चार वर्ष लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएपछि विभागले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि झण्डै २ अर्ब कम गरि २४ अर्ब ५४ करोड ५७ लाखको नयाँ लक्ष्य दिएको कार्यालयले जनाएको छ । तर लक्ष्य घटाएर निर्धारण गरेपनि आर्थिक वर्षको पहिलो महिनामै लक्ष्य भन्दा ४८ करोड २७ लाख ६२ हजार कम असुली भएको हो ।

    सरकारले आयात दर घटाउने जनाइरहँदा हरेक वर्ष आयातको हिस्सा घट्नुको साटो बढ्ने क्रममा छ । यस्तै नेपालबाट भारततर्फ निकासी हुने वस्तुको परीमाण भने बढ्न सकेको छैन । खासगरी साना र उत्पादन गर्न सक्ने कामहरु पनि आफैँ नगरी धेरै हदसम्म अरु देशमा निर्भर हुँदा निर्यात बढ्न सकेको छैन । 

    अर्कोतर्फ खुला सिमानाका कारण हुने तस्करीका कारण पनि यस नाकाबाट पर्याप्त राजस्व असुली हुन सकेको छैन । चोरी, पैठारी निकासी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुँदा राजस्व लक्ष्य अनुसार असुली हुन नसकेको स्थानीयको गुनासो छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend