हुम्ला । हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर तीर्थयात्रा गर्न जाने भारतीय र अन्य पर्यटकबाट ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
निजी विमान कम्पनीका जहाजबाट हरेक दिन भारतीय र अन्य देशका नागरिकबाट सिमकोट र नाम्खा गाउँपालिकाले राजस्व कर संकलन गर्दे आएकोमा एक महिनामा उक्त रकम संकलन भएको हो ।
भदौ सुरु भएपछि करिब ७ सयदेखि १ हजार २ सयसम्म तीर्थयात्री हुम्लाको हिल्सा हुँदै मानसरोवर–कैलाश दर्शनका लागि पुगेका छन् । तीर्थयात्रीको चाप बढेपछि नेपालगन्जबाट सिमकोट विमानस्थलमा तारा, सीता र समिट एयरलाइन्सका जहाजले हरेक दिन कम्तीमा १० देखि २० वटासम्म उडान भर्ने गरेका छन् । सिमकोट विमानस्थलमा ६ वटा हेलिकोप्टरले तीर्थयात्रीलाई नेपाल–चीन सिमा हिल्सासम्म उडान भर्ने गरेका छन् ।
हालसम्म सिमकोट गाउँपालिकाको राजस्व संकलन शाखाका अनुसार ४ हजार ६२९ जनाले कैलाश मानसरोवर तीर्थयात्रा गरेका छन् । भारतीय २ हजार २४३ पुरुष र २ हजार ८२ महिलाले तीर्थयात्रा गरेका छन् । अन्य देशका पुरुष १७३ र महिला १५१ ले तीर्थयात्रा गरेका छन् ।
सिमकोट गाउँपालिकाले सिमकोट विमानस्थलमा करबापत भारतीय नागरिकबाट ४२ लाख ८२ हजार र अन्य देशका नागरिकबाट २ लाख गरी ४५ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी नाम्खाले पनि सोहीबराबरको रकम राजस्व वापत संकलन गरेको छ । प्रतिभारतीय नागरिकबाट १ हजार र अन्य देशका नागरिकबाट स्थानीय तहले १ हजार ५ सय राजस्व संकलन गर्ने गरेका छन् ।
कोरोना महामारीका कारण चैत २०७७ देखि बन्द भएको कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको हो । दुई वर्षअघि चीनले हिल्सा नाका खोले पनि मानसरोवर प्रवेशको अनुमति खुला गरेको थिएन । ‘कोरोनाका कारण झन्डै चार वर्ष हुम्लाको पर्यटन व्यवसाय ठप्प भयो,’ पर्यटन व्यवसायी रिन्जिन लामाले भने, ‘अहिले दिनमा दुई सयदेखि एक हजार जनासम्म तीर्थयात्री हुम्ला आइरहेका छन् ।’
जहाज र हेलिकोप्टरको उडान बढ्दा हवाई ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । विमानस्थलमा ६ वटासम्म मात्र जहाज पार्किङ गर्न सकिन्छ ।
साँघुरो टर्मिनल भवनमा यात्रुलाई पर्खाएर राख्न समस्या भइरहेको छ । सडक मार्गबाट हिल्सासम्म पुग्नको लागि बाटो कच्ची र अप्ठेरो भएको कारण तीर्थयात्रीहरूले हेलिकोप्टरको सहायता लिने गरेका छन् । ६ वटा हेलिकोप्टरको उडान गर्नु पर्ने भएको सिमकोट विमानस्थल व्यस्त रहने गरेको छ ।
तीर्थयात्रीको भीडको कारण सिमकोटका होटलमा भीड हुने गरेको छ । यात्रीको चापको कारण होटेलका कोठाहरू हप्ता दिनअघिदेखि नै बुक हुने गरेका छन् । सिमकोटमा दुई रात आउँदा र जाँदा बिताउने भएकोले सिमकोटका २ दर्जन चीन सीमास्थित हिल्साका ३५ होटल भरिभराउ हुने गरेका छन् ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द भएको हुम्लाको पर्यटन व्यवसायले बल्ल गति लिएको छ । सिमकोट विमानस्थलदेखि होटलसम्म यात्रीको झोला ओसार्नको लागि स्थानीयले समेत काम पाउने गरेका छन् ।
प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म मानसरोवर–कैलाश दर्शनमा यात्रुहरू आउने गर्छन् । भारतीय तीर्थयात्रीले सन् २००६ देखि हिल्सा मार्ग प्रयोग गर्दै आएका थिए । २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द हुँदा हिल्सा भएर मानसरोवर यात्रा गर्नेको संख्या बढेको थियो ।
कोरोना महामारीसम्म झन्डै ४ वर्षको अवधिमा २५ हजार भारतीय तीर्थयात्रीले मानसरोवर दर्शन गरेको जिल्ला प्रशासन हुम्लाको तथ्यांकमा छ ।


