काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको एक महिनामा ६१ करोड रुपैयाँभन्दा बढी राजस्व असुली गरेको छ ।
विभिन्न शीर्षकमा संकलन गरेर आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा प्रहरीले ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हुण्डी कारोबार, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध सुनचाँदी बरामद, अवैध मालसामान, अवैध पशुपंक्षीलगायतका शीर्षकमा उक्त रकम संकलन गरेर राजस्व खातामा दाखिला गरेको हो ।

जसअनुसार सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनबाट २४ करोड ३९ लाख ४७ हजार ६८४ रुपैयाँ अर्थात ३९.९३ प्रतिशत राजस्व असुल भएको छ । त्यसैगरी ट्राफिक कारवाहीमा १० करोड ८८ हजार ५९४ रुपैयाँ अर्थात १६.३८ राजस्व असुली गरेको प्रहरीले जनाएको ।
यस्तै अवैध सुन/चाँदी बरामदबाट १४ करोड ४५ लाख ५८ हजार ८७१ रुपैयाँ अर्थात २३.६६ प्रतिशत, अवैध मालसामान बरामदबाट ९ करोड ७७ लाख १६४ रुपैयाँ अर्थात् १५.९९ प्रतिशत असुल गरेको प्रहरीको भनाइ छ ।
विभिन्न व्यक्तिको साथबाट स्रोत नखुलेको रकम ८८ लाख ९२ हजार ४१५ रुपैयाँ अर्थात १.३९ प्रतिशत असुल भएको छ भने, अवैध नदीजन्य पदार्थ उत्खनन्बाट २२ लाख ३२ हजार ३४७ रुपैयाँ अर्थात् ०.३७ असुल गरिएको छ ।
यता, अवैध काठ बरामदबाट २५ लाख १९ हजार ३४७ रुपैयाँ अर्थात ०.३७ प्रतिशत, अवैध पशुपंक्षी ३० लाख ६७ हजार २९५ रुपैयाँ अर्थात् ०.४१ प्रतिशत दाखिल गरिएको छ । यस्तै अवैध मुद्रा बरामद गर्दा ३२ लाख ६६ हजार ४०० रुपैयाँ अर्थात् ०.५३ प्रतिशत र हुण्डी कारोबार जरिवानाबाट ५० लाख ८१ ह्जार रुपैयाँ अर्थात ०.८३ प्रतिशत राजस्व असुली भएको प्रहरीको भनाइ छ ।


