काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले अहिलेकै अवस्थामा अन्तर्राष्ट्रिय हवाइ टिकटमा भ्याट छुट दिन नसक्ने बताएका छन् ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार व्यवसायीलाई भ्याट छुट दिन सक्ने अवस्थामा नरहेको बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्रले क्रमशः लय लिन थालेको अवस्थामा भ्याट छुटको माग भन्दा पनि व्यवयाय विस्तारका योजना ल्याए सरकारले सहयोग गर्ने स्पष्ट पारे ।
‘राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ’ उनले भने, ‘अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।’
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले हवाइ टिकटमा दुई वर्षअघि भ्याट लगाएका थिए । भ्याटका कारण हवाइ टिकक महंगो हुँदा नेपाल आउने पर्यटकको रोजाइ अन्य मुलुकतर्फ पर्न थालेको भन्दै पर्यटन व्यवसायीहरुले भ्याट छुटको माग गर्दै आएका छन् ।
यस्तै अर्थमन्त्री पौडेलले राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले भने, ‘अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौं ।’
कार्यक्रममा ‘टान’का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए ।
उनले भने, ‘सरकारले व्यावसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।’


