काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले चिनी प्रकरणमा मुछिएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी), नायव उपरीक्षक (डीएसपी) सहित १६ जना कर्मचारीलाई एकैसाथ कारबाही गरेको छ ।
राजस्व संकलनमा एसपीकै नेतृत्वको टोलीको कैफियत देखिएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटका गणप्रमुख एसपी सन्तोषकुमार बस्नेतसहित उनीहरूलाई कारबाहीस्वरूप फिर्ता बोलाइएको छ ।
उनको ठाउँमा मुख्यालयले अर्का एसपी रामहरि अधिकारीलाई पठाएको छ । मुख्यालयले आइतबार एसपी बस्नेतसहित कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरका डीएसपी नविन चन्दलाई कारबाहीस्वरूप फिर्ता बोलाएको हो ।
उनीहरूबाहेक सातजना निरीक्षकलाई समेत फिर्ता बोलाइएको छ । अन्य जुनियर सशस्त्र प्रहरी छन् । तानिएकामध्ये सबैभन्दा बढी बारा जिल्लाका छन् । सशस्त्र प्रहरी बलका अनुसार, बाराको नेपाल बोर्डर आउट पोस्ट (बीओपी) कबहीगोठका प्रमुख निरीक्षक जीवनलाल बुढा पनि तानिएका छन् ।
यसैगरी, बारा झिटकैया बीओपीका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
यस्तै, पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानिया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल पनि तानिएका छन् ।
सुरक्षा बेस बहुअर्वा भाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओली पनि जिम्मेवारीबाट हटाइएको मुख्यालयले जनाएको छ ।
यसैगरी, पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापित, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द पनि तानिएका छन् ।
कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तको पनि जिम्मेवारी खोसिएको छ । रौतहटका एसपी सन्तोषकुमार बस्नेतमाथि भने सशस्त्र प्रहरी बलकै टोलीले बरामद गरेको ७०० बोरा चिनीमध्ये ६०० बोरा नै गायब गरेको गुनासो आएपछि छानबिन भइरहेको छ ।
उनीसहित डीएसपी अमर लामामाथिसमेत मुख्यालयले छानबिन गरिरहेको छ । डीएसपी लामाले भने एसपी बस्नेतको निर्देशनअनुसार काम गरिएको बताएका छन् ।
मुख्यालयले केही जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुख तथा बीओपी प्रमुखसमेतलाई राजस्व संकलनमा राम्रो काम नगरेको भन्दै कारबाही गर्ने तयारी थालेको छ ।


