कृष्णनगर नाकाबाट एक अर्ब १४ करोडको प्लाइउड निर्यात

कृष्णनगर नाकाबाट एक अर्ब १४ करोडको प्लाइउड निर्यात

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • images

    रुपन्देही । कपिलवस्तुको कृष्णनगर हुँदै गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँँभन्दा बढीको प्लाइउड भारततर्फ निर्यात भएको छ । 

    भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कृष्णनगर भएर १६ लाख ९४ हजार क्युबिक मिटर प्लाइउड निर्यात भएको हो । जसको कुल मूल्य १ अर्ब १४ करोड ८७ हजार रुपैयाँँ हुन आउँछ । 

    अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ४८ करोड ४५ लाख बराबरको १५ लाख ८६ क्युबिक मिटर प्लाइउड भारत निर्यात भएको थियो ।

    आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आर्थिक वर्ष निर्यात घटेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भट्टराईले जानकारी दिए । भारतले यहाँका सबै उद्योगलाई (ब्युरो अफ इन्डियन स्टान्डर्ड) बीआइएस सर्टीफिकेट नदिएकाले घटेको उनले बताए । 

    रोग किरा नलागेको र गुणस्तरीय रहेको प्रमाणपत्र प्राप्त फाइटो सेनेटरी सर्टिफिकेट प्राप्त प्लाइउड भारत निर्यात हुने गरेको छ । भारत निर्यात हुनका लागि भारत सरकारको उद्योग मन्त्रालयबाट जारी हुने बीएसआई (ब्युरो अफ इन्डियन स्टान्डर्ड) लिनुपर्छ ।  

    कपिलवस्तुमा रहेका प्लाइउड उद्योगसँग बीएसआई नहुँदा गणपति रोजिन एण्ड टर्पेन्टाइन उद्योगमार्फत प्लाइउड निर्यात गरिरहेका छन् । प्लाइउड र भेनियर सिट दुवै कच्चा पदार्थ हुन् । यो पातलो काठको वस्तुलाई प्रविधिको सहयोगमा टाँसेपछि बल्ल प्लाइउड बन्छ । नेपालमा उत्पादित प्लाई गुणस्तरीय हुँदा भारतमा माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन् ।

    गत आर्थिक वर्षमा ३ लाख ७७ हजार टन खैरो सिमेन्ट निर्यात भएको हो । जसअनुसार कृष्णनगर नाकाबाट  ७५ करोड १ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । 

    यो नाकाबाट प्राय दाङमा रहेका सम्राट सिमेन्ट र घोराही सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट निर्यात हुने गरेको छ । अघिल्लो आवमा ३० करोड ३८ लाख बराबरको ५९६ टन सिमेन्ट निर्यात गरेका थिए । 

    त्यस्तै २२ करोड ५४ लाख रुपैयाँ बराबरको खोटो रोजिन निर्यात भएको छ । कृष्णनगर नाकाबाट १३ करोड ९८ लाखको सिमेन्ट क्लिङकर, ५ करोड २३ लाखको तारपिन तेल, ३ करोड ८७ लाखको एसेन्सियल आयल, २ करोड १२ लाख रुपैयाँको काठका झ्याल ढोकाहरु निर्यात भएका छन् । 

    ८४ लाख रुपैयाँको जटिबुटी, ८२ लाख ९७ हजारको भेनियर सिट र १५ लाख ९४ हजारको जमोठ कपडा निर्यात भएको कृष्णनागर भन्सार कार्यालयले जनाएको छ । 

    त्यस्तै आयाततर्फ कृष्णनगर नाकाबाट एक वर्षमा ३ अर्ब ३९ करोड रुपैयाँको चामल आयात भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा यो नाकाबाट ४ लाख ९१ ह्जार ३८४ क्वीन्टल चामल भित्रिएको हो । चामल आयातबाट ३९ करोड २१ लख ४३ हजार राजस्व संकलन भएको छ । 

    यो नाकाबाट ३ अर्ब बराबरको अन्य कोइला आयात भएको छ । १९ लाख क्वीन्टल कोइला आयात हुँदा ६८ करोड राजस्व संकलन भएको छ । राजस्व संकलनको हिसाबमा अन्य कोइलाबाट कृष्णनगर नाकामा सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ । 

    दोस्रोमा शुद्ध फलाम रहेको छ । गत वर्ष ५ लाख ६५ हजार क्वीन्टल शुद्ध फलाम भित्रिएको छ । यसको मूल्य २ अर्ब ५९ करोड ११ लाख रहेको छ । फलामबाट ४० करोड ७० लाख राजस्व संकलन भएको छ । 

    फलाम पछि कृष्णनगर नाकाबाट भित्रने मुख्य वस्तुहरुमा १ अर्ब रुपैयाँँभन्दा बढीको माल्ट, ९७ करोडको काँचको सिसि बोतल, ७४ करोड ७४ लाखको बदाम मुमफली, ६६ करोड ६० लाखको आल्मुनियमका टंकी कन्टेनर ड्रम, ६२ करोड ३१ लाख रुपैयाँको अंगुर, ६१ करोड ७४ लाख रुपैयाँको एटिएफ र ५४ करोड ६१ रुपैयाँको केरा आयात भएको छ । 

    भन्सार विभागले कृष्णनगर भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०८१/०८२ को लागि ५ अर्ब ३२ करोड ५६ लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । गत असार मसान्तसम्म लक्ष्यको ९८.२५ प्रतिशत अर्थात ५ अर्ब २३ करोड २० लाख २५ हजार राजस्व संकलन गरेको छ ।  

    अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १३.५ प्रतिशतले बढी राजस्व संकलन गरेको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।  

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend