काठमाडौं । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी कहिलेदेखि नियमित सञ्चालनमा आउँछ भन्ने अझै निश्चित भएको छैन। बाढी तथा पहिरोको जोखिम देखाउँदै चीनले व्यापारिक आवागमन रोकेपछि साढे दुई महिनादेखि नाका नियमित रूपमा सञ्चालन हुन सकेको छैन।
नाका खुलाउन नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारे पनि चिनियाँ पक्षले नियमित सञ्चालनको मिति दिएको छैन। पछिल्लो पटक परराष्ट्रमन्त्री शिशिर खनालले पनि तत्काल नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग बुधबारकाे भेटमा मन्त्री खनालले तातोपानी नाका सञ्चालनको विषय उठाएका हुन्।
रसुवागढी नाका भोटेकोशी क्षेत्रमा आएको बाढीले अवरुद्ध भएको र हिउँद लागेसँगै अन्य उच्च हिमाली नाकाबाट सहज व्यापार गर्न कठिन हुने उल्लेख गर्दै उनले तातोपानी तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका थिए।
'तातोपानी नाका काठमाडौंको सबैभन्दा नजिक दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,' मन्त्री खनालले भने, 'यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।'
जवाफमा अध्यक्ष याङले सम्बन्धित चिनियाँ निकायसँग समन्वय गरेर आवश्यक काम गर्ने बताएका छन्। तर, नाका नियमित रूपमा कहिलेदेखि खुल्छ भन्नेबारे स्पष्ट प्रतिबद्धता आएको छैन।
तातोपानी नाका यस वर्ष वर्षायाममा अरनिको राजमार्गका विभिन्न खण्डमा गएको पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। असारदेखि नै सडकमा पहिरो जाने, सडक भासिने र यातायात अवरुद्ध हुने समस्या देखिएको थियो।
साउनमा बाह्रबिसे–तातोपानी सडकका विभिन्न खण्डमा पहिरो जाँदा करिब ४० दिनसम्म आवागमन प्रभावित भएको थियो। भदौ ९ गते अस्थायी सडकमार्ग बनाएपछि डेढ महिनाको अवरोधपछि सडकमा सीमित यातायात सञ्चालन हुन थालेको थियो। तर, सडक पूर्ण सुरक्षित नहुँदै पुनः अवरोधको समस्या देखियो।
यसैबीच भोटेकोशी क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै चीनले भदौ १४ गतेदेखि तातोपानी नाकाबाट हुने नियमित आयात–निर्यात बन्द गरेको थियो। चिनियाँ पक्षले अरनिको राजमार्गको नेपाली भूभागमा पहिरो तथा बाढीको जोखिमलाई कारण देखाएको थियो।
दशैँमा सामानको आपूर्ति सहज बनाउन सरकारले कूटनीतिक पहल गरेपछि असोज १८ देखि २० गतेसम्म तीन दिनका लागि नाका खोलिएको थियो। त्यस अवधिमा ७२ वटा कन्टेनर नेपाल भित्रिएका थिए। तीमध्ये ५६ कन्टेनरमा दशैँ लक्षित तयारी पोसाक थिए भने अन्यमा फलफूललगायत सामग्री थिए।
तीन दिनपछि पुनः बन्द भएको नाका अहिलेसम्म नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। पर्यटकका लागि भने सीमित आवागमन खुला रहेको बताइएको छ।
तातोपानी नाका नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण प्रवेशद्वार हो। भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट ४७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। सो अवधिमा यस नाकाबाट चीनतर्फ निर्यात भने भएको थिएन।
नेपालको कुल वैदेशिक व्यापारमा तातोपानी नाकाको हिस्सा करिब २ प्रतिशत रहेको छ। सरकारले चालु आर्थिक वर्षमा यस नाकाबाट २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। मासिक २ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखिएको नाका बन्द हुँदा सरकारी आम्दानीमा समेत असर परेको छ।



