काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा भन्सार विभागले राजस्व संकलनको लक्ष्य पूरा गरेको छ भने आन्तरिक राजस्व विभाग लक्ष्यभन्दा पछाडि देखिएको छ। साउनदेखि कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार भन्सार विभागले लक्ष्यको १००.६ प्रतिशत राजस्व संकलन गर्दा आन्तरिक राजस्व विभागले ८७.८ प्रतिशत मात्रै उठाएको छ।
चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २८ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य पाएको छ। त्यसमध्ये पहिलो चार महिनाका लागि १ खर्ब ८८ अर्ब ४२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। यस अवधिमा विभागले १ खर्ब ८९ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको छ। यो चारमहिने लक्ष्यभन्दा १ अर्ब १९ करोड रुपैयाँ बढी हो।
भन्सार विभागको संकलन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले बढेको छ। चार महिनामा संकलित राजस्व वार्षिक लक्ष्यको करिब ३०.२ प्रतिशत हो।
यता, आन्तरिक राजस्व विभागले भने पहिलो चार महिनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन। आर्थिक वर्ष २०८३/८४ मा विभागले ७ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य पाएको छ। त्यसमध्ये साउनदेखि कात्तिकसम्म १ खर्ब ९७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो।
तर, यस अवधिमा विभागले १ खर्ब ७३ अर्ब ८९ करोड रुपैयाँ मात्रै संकलन गरेको छ। यो चारमहिने लक्ष्यको ८७.८ प्रतिशत हो। लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा विभाग २३ अर्ब ११ करोड रुपैयाँले पछाडि परेको छ।
आन्तरिक राजस्व विभागको संकलन भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढेको छ। चार महिनामा संकलित रकम विभागको वार्षिक लक्ष्यको करिब २२.४ प्रतिशत हो।
दुवै विभागको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलनको अवस्था फरक देखाएको छ। भन्सार विभागले चारमहिने लक्ष्यभन्दा बढी राजस्व उठाउँदा आन्तरिक राजस्व विभागले लक्ष्यको १२.२ प्रतिशत कम संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने दुवै विभागको राजस्व संकलन वृद्धि भएको छ।



