काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठ वटा विषयमा समझदारी भएको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्तापछि विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।
दुई देशबीच भएका समझदारीले सुरक्षा निकायको क्षमता अभिवृद्धिदेखि सरकारी अधिकारीको तालिम, स्वास्थ्य सेवा, अन्तरिक्ष प्रविधि र कृषि तथा पशुपालनसम्मका क्षेत्र समेटेका छन्। यससँगै नेपाल र भारतबीच संस्थागत तथा प्राविधिक सहकार्यलाई थप विस्तार गर्ने आधार तयार भएको छ।
समझदारीमध्ये सुरक्षा र प्रशासनिक क्षेत्रसँग सम्बन्धित तीन विषय छन्। फरेन्सिक विज्ञानमा अनुसन्धान तथा अध्ययनका लागि गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच सहकार्य गर्ने सहमति भएको छ।
यसबाट अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग, फरेन्सिक परीक्षण तथा अनुसन्धानसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणका लागि समझदारी भएको छ। प्रहरी जनशक्तिको व्यावसायिक क्षमता, तालिम र अनुसन्धानका क्षेत्रमा दुवै संस्थाले सहकार्य गर्नेछन्।
सरकारी कर्मचारीको क्षमता विकासका लागि भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच पनि सहमति भएको छ। यसअन्तर्गत नेपाली सरकारी अधिकारीलाई प्रशासनिक व्यवस्थापन, सुशासन र सार्वजनिक सेवा प्रवाहसम्बन्धी तालिम उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
प्रविधि र सञ्चार क्षेत्रमा पनि महत्वपूर्ण समझदारी भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने सहमति भएको छ। यसले स्याटेलाइटमा आधारित सञ्चार सेवा विस्तार र प्रविधिको उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रअन्तर्गत दुई देशले आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिमा सहकार्य गर्ने भएका छन्। त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य सेवा तथा चिकित्सासम्बन्धी सहकार्यका लागि छुट्टै समझदारी भएको छ।
सहरी विकासका क्षेत्रमा दुवै देशले दिगो सहरी विकाससम्बन्धी प्राविधिक सहकार्य गर्ने भएका छन्। सहरी पूर्वाधार, विकास योजना तथा प्राविधिक ज्ञान आदानप्रदान यस समझदारीका प्रमुख क्षेत्र हुनेछन्।
त्यस्तै, पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासका लागि पनि नेपाल र भारतबीच समझदारी भएको छ। यसबाट पशुपालन र मत्स्यपालनसम्बन्धी प्रविधि, अनुभव तथा विकासका कार्यक्रम आदानप्रदान गर्न बाटो खुल्नेछ।
समझदारीसँगै पूर्वाधारका परियोजनामा पनि प्रगति
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा आठ वटा समझदारीमा मात्रै हस्ताक्षर भएको छैन, दुई देशबीचका विभिन्न पूर्वाधार तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजना पनि अघि बढाइएका छन्।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा नेपाल र भारत जोड्ने दार्चुला–धार्चुला मोटरेबल पुल तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरेका छन्।
त्यसैगरी भारतको बनबासामा एकीकृत जाँच चौकी, झापामा पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ।
दुवै प्रधानमन्त्रीले अयोध्यादेखि जनकपुरधामसम्म जोड्ने सरयू–कमला एक्सप्रेस रेलसेवाको पनि भर्चुअल उद्घाटन गरेका छन्।
यसका अतिरिक्त भारतले बाढीपछिको पुनर्निर्माण र नेपालको दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। अगस्टमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विकासमा उक्त सहयोग परिचालन गर्ने भारतको प्रतिबद्धता छ।
प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भएका यी सहमति र परियोजनाले नेपाल–भारत सम्बन्धलाई सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासनिक क्षमता विकास, ऊर्जा तथा पूर्वाधारलगायतका क्षेत्रमा विस्तार गर्ने लक्ष्य राखेका छन्।



