भारतले नेपाललाई २४ हजार करोड सहयोग गर्ने, ऊर्जा क्षेत्रमा मात्रै १८ हजार ४०० करोड ऋण

भारतले नेपाललाई २४ हजार करोड सहयोग गर्ने, ऊर्जा क्षेत्रमा मात्रै १८ हजार ४०० करोड ऋण

बालेन–मोदी भेटवार्तामा विकास साझेदारीदेखि ऊर्जा, रेलमार्ग र शिक्षा क्षेत्रसम्म सहमति, नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गरिने

सोमवार, मंसिर ८ २०८३
सोमवार, मंसिर ८ २०८३
  • images

    काठमाडौं । भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सहयोग घोषणा गरेका हुन्।

    दुई देशबीच जारी संयुक्त वक्तव्यअनुसार भारतले १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउनेछ। यसमध्ये ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान हुनेछ भने ११ हजार ५०० करोड भारतीय रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ।

    अनुदानमध्ये ५ हजार ६०० करोड नेपाली रुपैयाँ विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ। त्यस्तै, १८ हजार ४०० करोड नेपाली रुपैयाँ बराबरको ऋण ऊर्जा क्षेत्रका परियोजनामा परिचालन हुनेछ। कुन परियोजनामा कति रकम खर्च गर्ने र सहयोग परिचालनको प्रक्रिया भने दुई देशबीचको आपसी छलफलबाट टुंगो लगाइनेछ।

    प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति धन्यवाद दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

    रेलमार्ग र बन्दरगाहमा नयाँ सहमति

    भ्रमणका क्रममा नेपाल र भारतबीच यातायात तथा पारवहन पूर्वाधार विस्तारमा पनि सहमति भएको छ। रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सम्पन्न भएको दुवै देशका प्रधानमन्त्रीले घोषणा गरेका छन्। नेपालमा पूर्व–पश्चिम रेलमार्ग निर्माणमा पनि भारतले सहकार्य गर्ने भएको छ।

    नेपालको तेस्रो मुलुकसँगको व्यापारलाई सहज बनाउन भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह र आवश्यक पूर्वाधार बनेपछि ओडिशाको पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा गरिएको छ।

    त्यस्तै, अयोध्यादेखि जनकपुरसम्म सरयू–कमला एक्सप्रेस रेलसेवा सुरु गरिएको छ। यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने दुई देशको अपेक्षा छ। बौद्ध र शिवशक्ति धार्मिक पर्यटन सर्किट विकास गर्ने सम्भावनाबारे पनि अध्ययन गरिने भएको छ।

    सीमा पूर्वाधारतर्फ भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको कामलाई पनि तीव्रता दिने सहमति भएको छ। धार्चुला–दार्चुला जोड्ने नयाँ मोटरेबल पुलसमेत उद्घाटन गरिएको छ।

    ऊर्जा र जलस्रोतमा भारतीय लगानी विस्तार

    ऊर्जा क्षेत्रलाई दुई देशबीचको विकास साझेदारीको महत्वपूर्ण आधार बनाइएको छ। भारत र नेपालले विद्युत् क्षेत्रको दीर्घकालीन व्यापार सम्झौता कार्यान्वयन तथा जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिने सहमति गरेका छन्।

    भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। नेपालमा भारतीय कम्पनीको सहभागितामा अघि बढिरहेका जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्ने सहमति पनि भएको छ।

    त्यस्तै, इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली ४०० केभी क्षमताका दुई अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठनसम्बन्धी प्रगतिको स्वागत गरिएको छ।

    पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुंग्याएर कार्यान्वयन सुरु गर्न दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माण पनि तीव्र बनाउने सहमति भएको छ। यी परियोजनाबाट जलस्रोतको उपयोगसँगै बाढीको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

    पेट्रोलियम पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ। झापामा पेट्रोलियम भण्डारण केन्द्र निर्माणको शिलान्यास गरिएको छ भने सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण चाँडै सुरु गर्ने सहमति भएको छ। दुई देशबीच ग्यास पाइपलाइन निर्माणको सम्भावनासमेत खोजिने भएको छ।

    नेपालमा आईआईटी क्याम्पस, चितवनमा एग्रो इन्डस्ट्रियल पार्क

    भारतले नेपालको शिक्षा र प्रविधि क्षेत्रमा सहयोग विस्तार गर्ने क्रममा नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने भएको छ। यसले नेपालको उच्च प्राविधिक शिक्षाको क्षमता विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने दुई देशको अपेक्षा छ।

    त्यस्तै, भारतको अनुदान सहयोगमा चितवनमा एग्रो इन्डस्ट्रियल पार्क स्थापना गरिने भएको छ। यसले कृषि उत्पादनको प्रशोधन, औद्योगिकीकरण र मूल्य अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    दुवै देशले डिजिटल सेवा, स्टार्टअप, वित्तीय तथा दूरसञ्चार सम्पर्क विस्तारमा समेत सहकार्य गर्ने भएका छन्। एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

    भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्रसमेत स्वीकार गरेका छन्। यसले आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, सम्पर्क सञ्जाल, जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा र अन्तरिक्ष प्रविधिसम्मका क्षेत्रमा आगामी सहकार्यको मार्गचित्र तय गरेको छ।

    यसैगरी नेपाल र भारतबीच फरेन्सिक अनुसन्धान, प्रहरी प्रशिक्षण, सरकारी अधिकारीको क्षमता विकास, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालनसम्बन्धी आठ समझदारीपत्र आदानप्रदान भएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend