भैरहवा–लखनउ हवाई रुट अब दुवैतर्फ सञ्चालन हुने, नेपाललाई भारतको थप दुई बन्दरगाह प्रयोग गर्न बाटो खुल्दै

भैरहवा–लखनउ हवाई रुट अब दुवैतर्फ सञ्चालन हुने, नेपाललाई भारतको थप दुई बन्दरगाह प्रयोग गर्न बाटो खुल्दै

सोमवार, मंसिर ८ २०८३
सोमवार, मंसिर ८ २०८३
  • images

    काठमाडौं । नेपाल र भारतबीच लामो समयदेखि एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई अब दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा सोमबार दुई देशबीच यस्तो समझदारी भएको हो।

    भारतको नयाँदिल्लीमा जारी प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने उल्लेख छ।

    यसका लागि दुवै देशका प्राविधिक अधिकारीहरूले छलफल गरी कार्यान्वयनको प्रक्रिया र मोडालिटी टुंग्याउनेछन्। हवाई सम्पर्क विस्तार तथा दुई देशबीचको आर्थिक गतिविधि बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि छलफल जारी राख्ने सहमति भएको छ।

    दुईतर्फी रुट सञ्चालनमा आएमा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने विमानलाई एउटै हवाई मार्ग प्रयोग गर्ने सुविधा हुनेछ। यसले विशेषगरी भैरहवा क्षेत्रको हवाई सम्पर्क विस्तारमा सहयोग पुग्न सक्छ। यद्यपि, उडान सञ्चालनको समय, अनुमति र अन्य प्राविधिक व्यवस्था टुंगिन बाँकी छ।

    हवाई रुटसँगै नेपालले भारतका थप बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) हुँदै नयाँ पारवहन मार्ग उपलब्ध गराउने घोषणा गरेको छ।

    त्यस्तै, आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच उपलब्ध गराउने सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

    यसअघि नेपालले भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो। नयाँ बन्दरगाहको पहुँचले नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि पारवहन विकल्प विस्तार गर्ने अपेक्षा गरिएको छ।

    हवाई सम्पर्क र पारवहन सुविधासम्बन्धी यी सहमतिलाई दुई देशबीचको कनेक्टिभिटी तथा आर्थिक सम्बन्ध विस्तारको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend