नयाँदिल्ली । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता भए पनि नेपालमा भारतीय लगानी अपेक्षाअनुसार विस्तार हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित नेपाल–भारत व्यावसायिक कार्यक्रममा बोल्दै श्रेष्ठले भारतीय लगानीको आकार अझै एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको उल्लेख गरे। भारतले गत वर्ष मात्रै ९४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको सन्दर्भ प्रस्तुत गर्दै उनले नेपालले लगानी आकर्षित गर्ने वातावरण बनाउन भारतको अनुभवबाट सिक्नुपर्ने बताए।
उनका अनुसार लगानीमैत्री नीति, सहज प्रशासनिक प्रक्रिया र प्रभावकारी कर्मचारीतन्त्र विदेशी पुँजी आकर्षित गर्न महत्त्वपूर्ण छन्। नेपालले पनि यस्ता सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
नेपालले विदेशी लगानीका लागि १०२ वटा उद्योगमा स्वचालित प्रक्रियाबाट स्वीकृति दिने व्यवस्था गरेको छ। त्यसैगरी ५९ वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिए। नेपालले लगानी संरक्षण तथा प्रवर्द्धन रणनीतिसमेत लागू गरेको भन्दै उनले कम्तीमा पाँच वर्ष नीतिगत स्थिरता र लगानीको कानुनी तथा भौतिक सुरक्षा सुनिश्चित गर्ने प्रयास भइरहेको बताए।
श्रेष्ठले नेपाल–भारत आर्थिक सम्बन्धलाई व्यापारमा मात्रै सीमित नराखी पारवहन, पूर्वाधार, ऊर्जा, प्रविधि र कनेक्टिभिटीमा विस्तार गर्नुपर्नेमा जोड दिए। नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिन दुवै देशका गुणस्तर मापदण्डबीच पारस्परिक मान्यता आवश्यक रहेको उनले बताए।
भारतका बन्दरगाह नेपाली व्यापारका प्रमुख प्रवेशद्वार भएकाले रेलमार्ग, विद्युतीय कार्गो ट्र्याकिङ र एकीकृत जाँच चौकीको प्रभावकारिता बढाउनुपर्ने उनको सुझाव छ। भैरहवा, नेपालगञ्ज र दोधारा–चाँदनीलाई व्यापार तथा पारवहन केन्द्रका रूपमा विकास गर्न सके दुई देशबीचको व्यापार लागत घटाउन सहयोग पुग्ने उनले बताए।
जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर
नेपालमा ४० हजार मेगावाटभन्दा बढी आर्थिक रूपमा सम्भाव्य जलविद्युत् उत्पादन क्षमता रहेको तर त्यसको करिब १० प्रतिशत मात्रै विकास भएको श्रेष्ठले बताए। नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
जलविद्युत्सँगै पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिलाई भारतीय लगानीका सम्भावित क्षेत्रका रूपमा उनले प्रस्तुत गरे। नेपाल लिभर, नेपाल एसबीआई बैंक, डाबर नेपाल र सूर्य नेपालजस्ता कम्पनीले लामो समयदेखि नेपालमा सफल व्यवसाय सञ्चालन गरिरहेको उदाहरण दिँदै उनले भारतीय निजी क्षेत्रलाई थप लगानीका लागि आग्रह गरे।
नेपाली उत्पादनमाथिका भारतीय शुल्क र प्रमाणीकरणमा असन्तुष्टि
लगानी विस्तारको प्रस्तावसँगै श्रेष्ठले नेपाली उद्योगले भारतीय बजारमा भोगिरहेका व्यापारिक अवरोधसमेत उठाएका छन्।
उनले नेपाली जुट उत्पादनमा सन् २०१७ देखि लाग्दै आएको एन्टी डम्पिङ शुल्कको विषय उठाउँदै यसलाई हटाउनुपर्ने संकेत गरे। उक्त शुल्कको यस वर्ष सेप्टेम्बरमा पुनरावलोकन भएको र काउन्टरभेलिङ शुल्क लगाउने विषयसमेत विचाराधीन रहेको उनले बताए।
नेपाली जुट उद्योगले पूर्वी नेपालका हजारौँ किसान तथा श्रमिकलाई रोजगारी दिइरहेको र कच्चा जुट तथा मेसिनरी भारतबाटै आयात गर्ने भएकाले यसलाई भारतीय उद्योगको प्रतिस्पर्धीभन्दा साझेदारका रूपमा हेर्नुपर्ने उनको तर्क छ।
त्यस्तै, भारतले स्टिलमा लगाएको सेफगार्ड शुल्क नेपालमा पनि लागू हुँदा गत आर्थिक वर्षमा भारततर्फ नेपालको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले बताए। भारतीय बजारमा नेपाली स्टिलको हिस्सा सानो भए पनि नेपालका उद्योगका लागि यो बजार महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणीकरण प्रक्रिया केही सहज भएकोमा धन्यवाद दिँदै उनले प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थ प्रमाणीकरणसम्बन्धी नियमका कारण नेपाली सामान सीमामा रोकिने समस्या अझै कायम रहेको बताए।
यी समस्या समाधानका लागि भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त कार्यदल गठन गर्न उनले प्रस्ताव गरे। कार्यदलले दुई देशका सरकारलाई व्यापारिक अवरोध हटाउने र गुणस्तर प्रमाणीकरण सहज बनाउने विषयमा साझा सुझाव दिन सक्ने उनको भनाइ थियो।
नेपालले भारतबाट ठूलो परिमाणमा वस्तु आयात गर्ने भएकाले नेपाली उद्योगको क्षमता विस्तार हुँदा भारतीय उद्योगले पनि बजार विस्तारको अवसर पाउने उनले बताए।
श्रेष्ठले आगामी पाँचदेखि सात वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न भारतीय निजी क्षेत्रको लगानी र सहकार्य आवश्यक रहेको बताए।



