काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाएकाे छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसँगै यसपटकको सबैभन्दा ठूलो नगद पुरस्कार हात पारेको हो।
प्रतियोगिताको उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएकाे छ। तेस्रो चितवन राइनाेजले ४० लाख र चौथो काठमाडाैं गाेर्खाजले ३० लाख रुपैयाँ प्राप्त गरेका छन्। यसरी शीर्ष चार टोलीले मात्रै कुल ३ करोड रुपैयाँ नगद पुरस्कार पाएका हुन्।
एनपीएलको तेस्रो संस्करणमा पुरस्कार राशि अघिल्ला दुई संस्करणको तुलनामा बढाइएको हो। पहिलो र दोस्रो संस्करणमा विजेता टोलीले १ करोड रुपैयाँ पाउँदै आएकोमा यसपटक ५० लाख रुपैयाँ थपिएको छ। उपविजेताको पुरस्कार पनि अघिल्लो संस्करणको ५१ लाखबाट बढाएर ८० लाख रुपैयाँ पुर्याइएको थियाे।
टोलीगत पुरस्कारसँगै व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पनि आकर्षक पुरस्कार पाएका छन्।
यसपटक प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका चितवन राइनोजका रिजन ढकालले ओमोडा कार जितेका छन्। प्रतियोगिताभर १७ विकेट लिएका उनी सर्वाधिक विकेटकर्ता पनि बने।
त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए। उनले यसबापत ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिमका जर्ज मुन्से प्लेयर अफ द म्याच बने। उनले ५४ बलमा अविजित १२५ रन बनाउँदै टोलीलाई १० विकेटको जित दिलाएका थिए।
व्यक्तिगत पुरस्कारअन्तर्गत उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र इमर्जिङ प्लेयरलाई मोटरसाइकल प्रदान गर्ने व्यवस्था गरिएको थियो। सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीलाई विशेष क्याप दिने व्यवस्था पनि थियो। त्यस्तै, बजाज पल्सरको सहकार्यमा प्रत्येक खेलको पावर प्ले च्याम्पियनलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिने कार्यक्रम सञ्चालन गरिएको थियो।



