पाँच हजार टावर हुँदा पनि टेलिकमको नेटवर्कमा समस्या, मन्त्रीले मागे टावरपिच्छेको हिसाब

पाँच हजार टावर हुँदा पनि टेलिकमको नेटवर्कमा समस्या, मन्त्रीले मागे टावरपिच्छेको हिसाब

शनिवार, मंसिर ६ २०८३
शनिवार, मंसिर ६ २०८३
  • images

    काठमाडाैं। नेपाल टेलिकमले देशभर नेटवर्क विस्तार र पूर्वाधारमा लगानी बढाइरहे पनि मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन। दुर्गम क्षेत्रदेखि सहरी इलाकासम्म नेटवर्कले काम नगर्ने, फोन नलाग्ने र इन्टरनेट अवरुद्ध हुने गुनासो बढेपछि सरकारले सेवा गुणस्तरको वास्तविक अवस्था पहिचान गर्न टेलिकमलाई निर्देशन दिएको छ।

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेटवर्क विस्तारमा भएको लगानी र उपभोक्ताले पाइरहेको सेवाबीच तालमेल नभएको भन्दै टेलिकमसँग टावरपिच्छेको कार्यक्षमता विवरण मागेका छन्।

    उनले कुन टावरले कति क्षेत्रसम्म प्रभावकारी सेवा दिइरहेको छ, टावरहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् वा छैनन् र नेटवर्कमा समस्या आउनुको वास्तविक कारण के हो भन्ने विषय तथ्याङ्कसहित प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

    मन्त्री तिमिल्सिनाका अनुसार मन्त्रालयमा दैनिकजसो टेलिकमको सेवा कमजोर भएको गुनासो आउने गरेको छ। तर, टेलिकमले भने सबै क्षेत्रमा सेवा गुणस्तर राम्रो रहेको दाबी गर्दै आएको छ। सेवाको अवस्था राम्रो रहेको दाबी गरेर समस्या ढाकछोप गर्नुभन्दा कमजोरी स्वीकार गरी सुधारको योजना ल्याउनुपर्ने उनको भनाइ छ।

    'सबैतिर गुणस्तर ठीक छ भनिएको छ, तर नेटवर्कमा समस्या छ भन्ने गुनासो मन्त्रालयमा आइरहेको छ। समस्या के हो, सुधारका लागि के गर्नुपर्छ, त्यो स्पष्ट भन्नुपर्छ,' उनले भने।

    टावरको क्षमता विस्तार र सेवा सुधारका लागि पर्याप्त लगानी भइरहेको अवस्थामा पनि उपभोक्ताले गुणस्तरीय सेवा नपाउनु स्वीकार्य नहुने मन्त्री तिमिल्सिनाले बताए। सेवा सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने तर टेलिकमले पनि प्रभावकारी काम गर्नुपर्ने उनको जोड थियो।

    नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत मोबाइल सेवा दिइरहेको छ। चालु आर्थिक वर्षमा थप एक हजार टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ। गत वर्ष मात्रै टावरमा दुई हजार आठ सयभन्दा बढी नयाँ ब्याट्री थपिएको टेलिकमको भनाइ छ।

    विद्युत् आपूर्ति बन्द हुँदा पनि नेटवर्क सञ्चालनमा राख्न ब्याट्रीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसअनुसार विद्युत् अवरुद्ध भए सहरी क्षेत्रमा चारदेखि पाँच घण्टा र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म टावर सञ्चालन गर्न सकिने टेलिकमको दाबी छ।

    तर, पूर्वाधार विस्तार र ब्याट्री थप्ने कामले मात्रै सेवाको गुणस्तर सुनिश्चित नभएको मन्त्रालयको चासो छ। विशेषगरी टावरको वास्तविक क्षमता, त्यसले समेट्ने क्षेत्र र सञ्चालन अवस्थाको मूल्यांकन गरेर समस्या पहिचान गर्नुपर्ने मन्त्री तिमिल्सिनाले बताएका छन्।

    नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले भने पुराना टावरको सेवा सुधार र नयाँ टावर थप्ने काम भइरहेको जानकारी दिइन्। कम्पनीले नियमित रूपमा टावरहरूको सेवा गुणस्तर परीक्षण गरिरहेको र नेटवर्कसम्बन्धी समस्या समाधानका लागि काम गरिरहेको उनको भनाइ छ।

    टेलिकमका अनुसार विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल टावर प्रभावित हुने र त्यसले फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने समस्या देखिने गरेको छ।

    छलफलमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend