भारतबाट १५० मेगावाट बिजुली किन्दै प्राधिकरण, सस्तो दरमा ल्याउने पुरानो प्रयास असफल

भारतबाट १५० मेगावाट बिजुली किन्दै प्राधिकरण, सस्तो दरमा ल्याउने पुरानो प्रयास असफल

शनिवार, मंसिर ६ २०८३
शनिवार, मंसिर ६ २०८३
  • images

    काठमाडौं। आगामी सुख्खायाममा हुन सक्ने विद्युत् अभाव टार्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट बिजुली आयात गर्ने तयारी गरेको छ। यसका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा बिजुली खरिद गर्ने प्रक्रिया अघि बढाउन लागेको हो।

    प्राधिकरणले सन् २०२७ को जनवरीदेखि मेसम्म पाँच महिना चौबिसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत् उपलब्ध गराउने गरी बोलपत्र माग गर्ने तयारी गरेको छ।

    यसअघि कम दरमा बिजुली उपलब्ध गराउने प्रस्ताव गरेको भारतीय कम्पनीले अन्तिम समयमा सम्झौता गर्न अस्वीकार गरेपछि प्राधिकरण नयाँ खरिद प्रक्रियामा जान लागेको हो। अब प्रतिस्पर्धात्मक बोलपत्रबाट सकेसम्म सस्तो दरमा विद्युत् ल्याउने प्राधिकरणको योजना छ।

    प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत् चौबिसै घण्टा आयात गर्ने प्रस्ताव अघि बढाइएको छ। यसका लागि भारतका अनुमतिप्राप्त विद्युत् व्यापारिक कम्पनीसँग दररेट माग गरिनेछ।

    सस्तो दर प्रस्ताव गरेको कम्पनीले नै सम्झौता गर्न मानेन

    प्राधिकरणले यसअघि १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग प्रस्ताव मागेको थियो। त्यसक्रममा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँमा विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको थियो।

    त्यस्तै, मनिकरण इनर्जी लिमिटेडले प्रतियुनिट ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ भारतीय रुपैयाँ दर प्रस्ताव गरेका थिए।

    तीनमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसीलाई प्राधिकरणले असोज १६ गते आशयपत्र (एलओआई) जारी गरेको थियो। असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाइए पनि कम्पनीले भोलिपल्टै पत्र पठाएर प्रस्तावित मूल्यमा सम्झौता गर्न नसक्ने जानकारी गरायो।

    कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्य वृद्धि, विश्वव्यापी मौसम परिवर्तन र एल निनोको प्रभाव तथा भारतभित्रै विद्युत्को माग बढेको कारण देखाउँदै पुरानो मूल्यमा विद्युत् दिन नसक्ने जनाएको थियो।

    त्यसपछि प्राधिकरणले नयाँ दरमा पुनः सम्झौता गर्नेभन्दा प्रतिस्पर्धात्मक बोलपत्रमार्फत खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

    भारतीय विद्युत् बजारमा पनि मूल्य बढेको देखिन्छ। भारतको डे अहेड मार्केटमा असोज २०८३ को औसत बजार समायोजन मूल्य प्रतियुनिट ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको थियो। नेपाली मुद्रामा यो करिब ११ रुपैयाँ ७४ पैसा हो। यस्तो अवस्थामा पुरानो प्रस्तावित मूल्यमा सम्झौता हुन नसक्नुले आयातको लागतसमेत बढ्न सक्ने संकेत गरेको छ।

    भोटेकोशी बाढीले थपियो ४३० मेगावाटको दबाब

    आगामी सुख्खायाममा विद्युत् व्यवस्थापन चुनौतीपूर्ण हुनुको अर्को कारण भोटेकोशीमा आएको हिमबाढीबाट जलविद्युत् आयोजनामा पुगेको क्षति पनि हो।

    बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। यसले आगामी सुख्खायामको आपूर्ति व्यवस्थापनमा थप दबाब सिर्जना गरेको छ।

    पछिल्ला दुई–तीन वर्षदेखि नै नदीमा पानीको बहाव घट्दा आन्तरिक उत्पादनले माग धान्न नसक्ने अवस्था छ। त्यसैले प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आईईएक्स) अन्तर्गत डे अहेड मार्केट र रियल टाइम मार्केटबाट आवश्यकताअनुसार बिजुली खरिद गर्दै आएको छ।

    प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले भदौ २५ गते गरेको निर्णयअनुसार जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनलाई सिफारिस गरेको थियो। अप्रिल र मे महिनामा माग थप बढ्न सक्ने भएकाले त्यसबेला आवश्यकताअनुसार भारतीय बजारबाट थप बिजुली खरिद गर्ने विकल्प पनि खुला राखिएको छ।

    ३०० मेगावाट नयाँ आयोजना जोडिँदा पनि पर्याप्त नहुने

    आगामी सुख्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना थपिने प्राधिकरणको अनुमान छ। तर, हिउँदमा नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।

    यसले नयाँ आयोजना थपिए पनि सुख्खायाममा आन्तरिक उत्पादनबाट माग धान्न सहज नहुने देखाउँछ।

    त्यसैले प्राधिकरणले पाँच महिनाका लागि १५० मेगावाट विद्युत् आयातको व्यवस्था गर्न लागेको हो। बोलपत्रबाट प्राप्त प्रस्तावको मूल्यांकन गरी प्रतिस्पर्धी दरमा खरिद सम्झौता गर्ने र आवश्यक परे भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend