नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई आर्थिक साझेदारी विस्तारमा उपयोग गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
भारतको नयाँदिल्लीमा आइतबार आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा सम्बोधन गर्दै उनले नेपालमा नयाँ लगानी गर्न र यसअघि लगानी गरिसकेका भारतीय कम्पनीलाई आफ्नो व्यवसाय विस्तार गर्न आह्वान गरेका हुन्।
भारतीय उद्योग परिसंघ (सीआईआई) ले होटल ताज प्यालेसमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले विशेषगरी सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटी क्षेत्रलाई लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे।
‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’
अर्थमन्त्रीको सम्बोधनको अर्को महत्त्वपूर्ण पक्ष विदेशी लगानीको सुरक्षा र प्रतिफल फिर्तासम्बन्धी प्रतिबद्धता थियो। नेपालमा लगानी गरेपछि त्यसको प्रतिफल प्राप्त हुने र आर्जित नाफा फिर्ता लैजान कानुनी अवरोध नहुने वातावरण बनाउन सरकार लागिरहेको उनले बताए।
उनका अनुसार सरकारले लगानीसम्बन्धी कानुन र प्रक्रियालाई सरल तथा लगानीमैत्री बनाउने काम अघि बढाइरहेको छ। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
नेपालमा विदेशी लगानी आकर्षित गर्ने क्रममा कानुनी जटिलता, प्रक्रियागत झन्झट र लगानीको प्रतिफल फिर्ता लैजाने विषय लगानीकर्ताका चासोका क्षेत्र रहँदै आएका छन्। भारतीय व्यवसायीलाई सम्बोधन गर्दै अर्थमन्त्रीले यिनै विषयमा सरकारको प्रतिबद्धता दोहोर्याएका हुन्।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीको भ्रमण टोलीसँगै भारत पुगेका नेपाली उद्योगी व्यवसायी तथा डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू कार्यक्रममा सहभागी थिए।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणका क्रममा भएको यो व्यावसायिक छलफललाई नेपालले भारतीय निजी क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न खोजेको छ। विशेषगरी ऊर्जा, प्रविधि र पूर्वाधारमा भारतीय पुँजी तथा व्यावसायिक साझेदारी भित्र्याउने सरकारको प्रयासलाई यसले थप बल पुर्याउने अपेक्षा गरिएको छ।



